२०८३ भाद्र १ गते, सोमबार ००:२२

मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न भारतीय सेना प्रमुख सेठ नेपाल आउँदै

काठमाडौं –

भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न आइतबार नेपाल आउँदै छन्। चारदिने औपचारिक भ्रमणका क्रममा उनी काठमाडौं आउने भएका हुन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय सेना प्रमुख सेठलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको विशेष सैन्य सम्बन्धको प्रतीकका रूपमा दुवै देशका सेना प्रमुखलाई एक–अर्काको सेनाको मानार्थ महारथी (Honorary General) को सम्मान प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागिएको हो।

यो सम्मानले नेपाल र भारतबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विशिष्ट सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्नुका साथै दुई देशका सेनाबीचको सहकार्य र आपसी विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमणका मुख्य दुई उद्देश्य छन्। पहिलो, नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु र दोस्रो, नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउनु हो।

भ्रमणका क्रममा सोमबार नै जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा दुई देशका सेनाबीचको सहकार्य, पारस्परिक हित तथा सुरक्षा र सैन्य सम्बन्धका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काको मानार्थ महारथीको सम्मान दिने परम्परा सन् १९५० देखि कायम रहेको मानिन्छ। त्यसयता दुवै देशले आफ्ना सेना प्रमुखलाई पारस्परिक रूपमा यस्तो सम्मान प्रदान गर्दै आएका छन्। यसलाई दुई देशबीचको विशिष्ट सैन्य सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।

भारतीय सेना प्रमुख सेठको नेपाल भ्रमणले औपचारिक सम्मान आदानप्रदानसँगै नेपाल–भारत सैन्य सम्बन्धलाई थप निरन्तरता दिने अवसरका रूपमा समेत हेरिएको छ।

चारदिने भ्रमण पूरा गरी भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस