२०८३ भाद्र १ गते, सोमबार ०१:१७

जाजरकोट पहिरोमा तीनको मृत्यु, दुई बेपत्ता : उद्धार तथा खोजी कार्य तीव्र

जाजरकोट –

अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा अझै दुईजना बेपत्ता रहेकाले सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन्।

पहिरोमा परी घाइते भएका भेरी–२, साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। यसअघि सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको थियो।

शनिबार साँझ करिब ५ः३० बजे खसेको पहिरोमा परी सातजना घाइते भएका छन्। घाइते हुनेमा ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की छन्।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोमा परी भेरी–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक बेपत्ता छन्। पहिरोपछि घरबाट निस्किएका विक त्यसपछि परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरोले पुरिएको क्षेत्र तथा आसपासमा सम्भावित स्थान पहिचान गरी खोजी तथा उद्धार कार्य भइरहेको छ।

पहिरोका कारण स्थानीय आठ घरमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण थप पहिरोको जोखिमसमेत रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्।

यसैबीच, स्थानीय प्रशासन र सुरक्षाकर्मीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा घाइतेको उपचार र बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेका छन्। वर्षा नरोकिए सम्भावित थप क्षति रोक्न जोखिमयुक्त क्षेत्रको निगरानी बढाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस